काठमाडौँ १२, फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको बाँडफाँटमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
औपचारिक रुपमा निर्णय नभएपनि दुई दलको बीचमा यिनै खाकामा छलफल भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । सहमतिमा राष्ट्रपति र उपसभामुख एमालेको भागमा परेको छ भने सभामुख र उपराष्ट्रपति माओवादीले लिने पूर्ववत सहमति कायम गरिएको छ । अघिल्लोमा पनि दुबै दलले कार्यकाल यहि प्रकृतिको बाँडफाँट गरेका थिए ।
पद बाँडफाँटमा टुंगो लागेपछि राष्ट्रपति को बन्ने विषयले चर्चा पाएको छ । पूर्व प्रधानमन्त्री सभामुख झलनाथ खनाल र पूर्व सभामुख सुवास नेवाङ राष्ट्रपति बन्नु पर्ने लविङ एकातिर छ भने प्रधानमन्त्री केपी ओली निकट नेताहरु वर्तमान राष्ट्रपतिलाई नै दोहर्याउने कसरतमा छन् ।
दुवै पार्टीभित्र यी पदका आकाङ्क्षीहरू धेरै भएका कारण मिलाउन गाह्रो भइरहेको बताइएको छ । माओवादी केन्द्रमा नन्दकिशोर पुनलाई उपराष्ट्रपति दोहो¥याउने चर्चासँगै सो पदका लागि अमिक शेरचनको पनि चर्चा रहेको छ । माओवादी केन्द्र स्रोतका अनुसार नेता शेरचनले उपराष्ट्रपतिका लागि आफ्नो चाहना व्यक्त गर्नुभएको छ । उहाँ सांसद हुनुहुन्न । त्यस्तै सभामुखमा ओनसरी घर्तीमगरको चर्चासँगै सोही पार्टीका कृष्णबहादुर महरा, देव गुरुङ र जयपुरी घर्तीको नाम पनि चर्चामा छ । पार्टीको नाम चर्चामा रहे पनि पार्टीले कसैको नाम टुङ्गो लगाएको छैन । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको कार्यक्रम घोषणा गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन फागुन २३ गते हुनेछ ।
No comments:
Post a Comment