काठमाडौं, २२ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी आध्यात्मिक महत्वको केन्द्र हो । नेपाल तथा विश्व समुदायको सम्पदा स्थल लुम्बिनी पछिल्लो समय प्रदूषणको सिकार बन्दै गएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित हुन थालेपछि वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् । ‘लुम्बिनी काठमाडौंभन्दा डेढगुणा बढी प्रदूषित रहेको वातावरण प्रदूषण मापन केन्द्रको तथ्यांकले देखाएको छ,’ वातावरण विभागकी उपमहानिर्देशक एवं प्रवक्ता सफलता श्रेष्ठले भनिन्, ‘के कारणले बढी प्रदूषित भयो अध्ययन थालेका छौं ।’
सरकारले हावाको गुणस्तर ४० माइक्रोग्राम प्रति घनमिटरलाई ‘स्ट्यान्डर्ड’ मानेको छ । तर, जाडो मौसममा औसत हावाको गुणस्तर बिहान ११ बजेजसम्म १ सय माइक्रोग्राम प्रतिघनमिटर, १२ देखि २ बजेको बीचमा ५० भन्दा केहीमाथि र बेलुका ५ बजेपछि १ सय माथि पुग्ने गरेको छ । पछिल्लो वर्ष ‘पीएम २.४’ का आधारमा वायु प्रदूषण मापन हुँदै आएकोमा गत जनवरीमा लुम्बिनीमा पीएम २.५’ पुगेको तथ्यांक छ । श्रेष्ठका अनुसार वातावरणीय प्रदूषण मापनले बेलाबेलामा काठमाडौंभन्दा लुम्बिनीको प्रदूषण दर बढी देखाउने गरेको छ ।
काठमाडौंभन्दा लुम्बिनीमा मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा बढी भएको पाइएपछि ‘लुम्बिनी जोखिम’ मा परेको हो । लुम्बिनी प्रदूषित हुँदै जानुमा सिमेन्ट उद्योग र सीमावर्ती भारतीय बजारको प्रदूषित हावा हुन सक्ने वातावरणविद् भुषण तुलाधरको आँकलन छ । तर, उनी काठमाडौंभन्दा लुम्बिनी बढी प्रदूषित भएको भनिहाल्ने अवस्था नभएपनि ‘लुम्बिनी प्रदूषित सहर’ बन्दै गएको बताउँछन् ।
‘काठमाडौं भन्दा लुम्बिनीको प्रदूषण बेलाबेलामा बढी हुन्छ । तर, वर्षभरको तथ्यांक हेर्ने हो भने काठमाडौंमा नै बढी प्रदूषण रहेको छ,’ वातावरणविद् तुलाधरले भने, ‘अहिले तराईमा शितलहर छ, जसकारण प्रदूषणको मात्रा बढी देखिन सक्छ ।’ बिहान बेलुकाभन्दा अपराह्नको समयमा प्रदूषित रहेको वातावरण प्रदूषण मापन केन्द्रको तथ्यांकले देखाउँछ । वार्षिक तथ्यांक हेर्दा कात्तिकदेखि फागुनसम्म अत्याधिक प्रदूषित हुने गर्छ ।
गत जनवरीमा अमेरिकी विश्वविद्यालयहरू यल तथा कोलम्बियाद्वारा तयार पारिएको ‘इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स’ (इपीआइ) विश्वभरका १ सय ८० प्रदूषित देशमध्ये नेपाल १ सय ७६औं नम्बरमा थियो ।
सहरी क्षेत्रमा धुलोधुवाँ र ग्रामीण क्षेत्रमा घरभित्र दाउरा तथा गुइँठो बाल्ने प्रवृत्तिले प्रदूषण बढिरहेको वातावरणविद्हरू बताइरहेका बेला प्रदूषणले लुम्बिनीलाई नै चेतावनी दिनुले चुनौती थपिएको छ । लुम्बिनी क्षेत्रमा रहेका बिहार, गुम्बा र होटलले प्रयोगमा ल्याएका ठूला जेनेटरको धुँवा पनि प्रदूषणको कारक रहेको छ ।
वातावरणविद् तुलाधार ‘लुम्बिनी बचाउन’ अनुकुलित वातावरण बनाउन जरूरी ठान्छन् । उनी भन्छन्, ‘कतिपय मान्छे शान्तिको खोजीमा लुम्बिनी पुग्छन् गौतमबुद्धको जन्मस्थल भएकाले पनि शान्ति मिल्ने जनविश्वास रहेको छ । तर, यसरी वातावरण नै प्रदूषित हुँदै जाने हो भने लुम्बिनी खतरामा पर्छ ।’
लुम्बिनीको दर्शन गर्न आन्तरिक मात्र होइन बाह्य पर्यटक पनि आउने गर्छन ।बुद्धको जन्मस्थल भनेर विश्वमाझ चिनिएको लुम्बिनीमा सन् २०१७ मा १ लाख ४५ हजार ७ सय ९७ जना तेस्रो मुलुकका र १ लाख ५५ हजार ४ सय ४४ भारतीय पर्यटकले अवलोकन गरेको लुम्बिनी विकास कोषको तथ्यांक छ । सोही वर्ष १२ लाख ५१ हजार ३ सय ४६ नेपाली पर्यटक लुम्बिनी भित्रिएका थिए ।
गत जनवरीमा सार्वजनिक प्रतिवेदन अनुसार नेपालभन्दा पनि खराब अवस्थामा दक्षिण एसियाकै छिमेकी मुलुकहरू भारत र बांग्लादेश रहेका छन् ।
लुम्बिनी भारतीय सीमा नजिक पर्ने भएकाले प्रदूषणको समस्या देशभित्र मात्र नभई देश बाहिर पनि रहेको अनुमान गरिएको छ । भारतीयसीमा छेउछाउमा कोइलामा आधारित उद्योगधन्दा रहेका छन् । लुम्बिनीमा भारतबाट हावासँगै प्रदूषण समेत बहेको हुनसक्ने वातावरण विज्ञ डा. यादवराज जोशीको अनुमान छ ।
भारतका उत्तर प्रदेश, बिहार, राजस्थान, दिल्ली मुख्य प्रदूषित क्षेत्र हुन् । लुम्बिनी क्षेत्रमा एक दर्जनको हाराहारीमा सिमेन्ट उद्योग छन् । प्रदूषणको मुख्य कारक सिमेन्ट उद्योग रहेको बताउने वातावरण विज्ञ जोशी भन्छन्, ‘सिमेन्ट उद्योगबाट उड्ने धुलो घातक हुन्छ, हामीले विश्व सम्पदा रहेकै आसपासमा उद्योग खोल्न दियौं । जसले दीर्घकालमा झनै समस्या ल्याउन सक्छ ।’
वायु प्रदूषणको स्थिति मापन गर्न काठमाडौंमा ७ र अन्य क्षेत्रमा ५ वटा वायु प्रदूषण मापन केन्द्र रहेका छन् । उपत्यकामा काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर तथा बाहिर सौराहा, लुम्बिनी र पोखरामा मापन केन्द्र रहेका छन् ।
No comments:
Post a Comment