पूर्वराजा भारतमा किन प्यारा ? - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, February 11, 2018

पूर्वराजा भारतमा किन प्यारा ?

काठमाडौं, २९ माघ । धार्मिक सभा सम्मेलन र भेटघाटमा व्यस्त रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार मात्रै भारतको उडिसा भ्रमण सम्पन्न गरेका छन् । उनी एउटा धार्मिक अनुष्ठानको मुख्य अतिथिका रूपमा त्यहाँ पुगेका थिए । अभैm केही दिन उनी भारतको भ्रमणमा नै व्यस्त रहनेछन् । अबका दुई÷तीन दिन उनले गोप्य राजनीतिक भेटघाट गर्ने अनुमान गरिएको छ । उनले उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकसँग समेत भेट गरेका छन् । पटनायक भारतीय जनता पार्टी गठबन्धनको विजु जनता दलका अध्यक्ष समेत हुन् । 

केही दिनअघि कोलकाता भएर उडिसा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रले राजनीतिक परिवर्तनको आशा राख्दै भनेका थिए, ‘पात फेरिरहन्छन्, जरा अटल रहन्छ ।’

संवाददताका अगाडि ज्ञानेन्द्रले भनेका थिए, ‘यो कुरा बुझ्नुहोस् ! पात त फेरिरहन्छन्, जरा त सधैं बलियो रहन्छ । अटल रहन्छ ।’ उनको संकेत विगतमा राजसंस्थालाई नेपालकोे राजनीतिक धरातल मानिदै आइएकाले राजनीतिक दल र व्यवस्थाभन्दा बलियो रहेको भन्नेतर्पm थियो । संचार माध्यमसामु घुमाउरो तरिकाले विभिन्न राजनीतिक संकेत गर्दै खुलेर बोल्ने गरेका ज्ञानेन्द्रले हरेक भारत भ्रमणअघि यस्ता अभिव्यक्तिलाई झनै चर्को बनाउने गरेका छन् । 

भारतमा हिन्दूवादी शक्ति, भारतीय जनता पार्टीको सत्तारोहणपछि त्यहाँका राजनीतिज्ञ र नेतासँगको भेटघाटलाई बाक्लो बनाएका ज्ञानेन्द्रले गत महिना भारतको लखनऊमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए । पश्चिम नेपालको भ्रमणका क्रममा गत महिना मुख्यमन्त्रीको कार्यालय लखनऊमा ज्ञानेन्द्रलाई स्वागत गर्दै आदित्यनाथले उनको सम्बोधनमा ‘राजा’ शब्द प्रयोग गरेका थिए । उनले ज्ञानेन्द्रलाई भेटेको उल्लेख गर्दै ट्वीटरमा लेखे,‘नेपालका राजालाई सम्झना स्वरूप उपहार दिन पाउँदा खुशी छु । धार्मिक र सांस्कृतिक सम्बन्धका विविध पक्षमा कुराकानी भयो ।’

आदित्यनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र मात्र होइन, रणनीतिक सल्लाहकारका रूपमा पनि चिनिने गरेका छन् । आदित्यनाथ विश्व हिन्दु महासंघका कार्यक्रममा सक्रिय छन् । मुख्यमन्त्री निर्वाचित हुनुपूर्व आदित्यनाथ र ज्ञानेन्द्रको भेट काठमाडौंमा भएको थियो । विराट् हिन्दूसम्मेलनका अवसरमा आदित्यनाथले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग लामो छलफल गरेका थिए । साथै त्यसबेला वनकालीमा आयोजित समारोहमा नेपालमा राजतन्त्र फर्काइ छाड्ने विवादास्पद बयान समेत दिएका थिए ।

अर्को राजा नभएसम्म राजा नै हुन् भनेर सम्बोधन गर्छन्, म भने विज्ञप्तिमा पनि पूर्वराजा भन्न बाध्य छु ।
–डा. फणिराज पाठक, ज्ञानेन्द्र सचिवालय

विभिन्न दिवस र अवसर पारेर फरक तर राजनीतिक विज्ञप्ति जारी गर्दै आएका ज्ञानेन्द्रलाई उडिसामा धार्मिक नेताहरूले भव्य स्वागत गरेका थिए । साथै उनलाई नेपालका राजा ‘ज्ञानेन्द्र वीरविक्रम शाह’ भन्दै भव्य स्वागत गरेको भारतीय संचार माध्यमले उच्च प्राथमिकतासाथ प्रकाशन र प्रशारण गरे । त्यहाँ उनको आरती गरेरै स्वागत गरिएको थियो । ज्ञानेन्द्रले उक्त अवसरमा  भने, ‘म पशुपतिनाथदेखि जगन्नाथसम्म आइपुगेको छु ।’ उडिसा र नेपाललाई जोड्न चाहनुहुन्छ  ? भन्ने प्रश्नको उत्तर दिँदै ज्ञानेन्द्रले भने, ‘निश्चय नै धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ र उडिसालाई म जोड्न चाहन्छु ।’
त्यसो त भारतका सत्तासीन प्रभावशाली नेता र संचारमाध्यमले मात्र होइन नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले पनि आफ्नो सम्बोधन र विज्ञप्तिहरूमा ज्ञानेन्द्रलाई पूर्वराजा नभनी राजाको रूपमा सम्बोधन गर्ने गरेका छन् । ‘अर्को राजा नभएसम्म राजा उहाँ नै राजा हुन् भनेर सम्बोधन गर्छन्, म भने विज्ञप्तिमा पनि पूर्वराजा लेख्न बाध्य छुँ’, ज्ञानेन्द्र सचिवालयका प्रेस हेर्ने डा. फणिराज पाठक भन्छन्, ‘उनीहरूको त्यो सम्बोधन र उच्च सम्मानलाई नेपालमा नजरअन्दाज गरिरहेको छ । यसलाई गहन हिसावले बुझ्न आवश्यक नै होला ।’

एक महिनाअघि ज्ञानेन्द्रको अकस्मात भएको लखनऊ भ्रमण, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अकस्मिक नेपाल भ्रमण र फेरि ज्ञानेन्द्रको भव्य स्वागतसहितको धार्मिक अनुष्ठानका लागि उडिसा भ्रमण औपचारिकता मात्र नभएर राजनीतिक तहको पनि रहेको उच्च स्रोतहरूको दाबी छ । राजाको पछिल्लो सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाहको भेटलाई पनि अर्थपूर्ण रूपमा व्याख्या गरिन थालेको छ । ‘उच्च तहका भ्रमणहरूका रहस्यबारे हामीलाई थाहा हुँदैन । तर, घटनाक्रमले देखाइरहेका  संकेतलाई सवैले व्याख्या गर्न सक्छन् ।’, पूर्वराजाको सचिवालयका एक अधिकारीले भने, ‘यि संकेतहरूलाई विश्लेषण गरेर बुझ्ने काम मिडियाको हो ।’ 

०७३ र ०७४ सालको नयाँ वर्षका अवसरमा ज्ञानेन्द्रले जारी गरेका विज्ञप्तिमा राजनीतिक टिप्पणीसहितको शुभकामना थियो । उनले ति विज्ञप्तिहरूमा देशभक्तहरूलाई समेटेर अघि बढ्नुपर्नेमात्र बताएका थिएनन् राजनीतिक दलको शासकीय शैलीले मुलुक अघि बढ्न नसक्ने प्रष्ट सन्देश थियो । ‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगतिलो नेतृत्वको ‘अगस्ति तृष्णा’ मुलुकका लागि नोक्सानदायी रहेको’ उनको टिप्पणी थियो । उनले बारम्बार भन्दै आएका छन्, ‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपालीलाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीनता प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’

संविधान कार्यान्वयनको चरणमा संघीय चुनाव समेत सम्पन्न भई राजनीति नयाँ चरणमा प्रवेश गरिसक्दा ज्ञानेन्द्रको भ्रमणको सक्रियता र टिप्पणी अर्थपूर्ण नै रहेको बताइन्छ । ‘संघीयता कार्यान्वयन भयो, प्रदेश सरकार आए भनेर जसरी व्याख्या भइरहेको छ । विदेशी, छिमेकी राष्ट्रको सम्बोधन र विश्व राजनीतिको इतिहासको मुल्यांकन गर्दा कस्ता परिवर्तन कसरी भए भन्नेलाई पनि नजरअन्दाज गर्न हुन्न’, डा. पाठक भन्छन्, ‘मैले यो कुरा गर्दा पूर्वाग्रही भएर बोल्यो भन्छन् । तर, आवश्यक प्रणाली कस्तो हुनुपर्ने राजनीति कुन गतिमा कता वगिरहेको छ भन्ने छर्लङ्ग देखिएकै छ ।’ ज्ञानेन्द्रको अभिव्यक्तिको संकेतको प्रष्ट विचार राजसंस्थाको पुनस्र्थापनाको प्रयत्न हो ? भन्ने प्रश्नमा पाठक भन्छन्, ‘यसबारेमा मैले केही बोल्न मिल्दैन ।’ 

धार्मिक अनुष्ठान र नेपालको संविधानको कार्यान्वयन दुवैलाई हानी नहुनेगरी ज्ञानेन्द्र सांस्कृतिक राजाका रूपमा प्रतिस्थापित हुने प्रयत्नमा रहेको उच्च स्रोतहरूको दाबी छ । यस्तो सहमति यो संविधान जारी हुनुपूर्व एक तहमा भइसकेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा सांस्कृतिक राजा राख्न सकिने अभिव्यक्ति दिनु, स्व. गिरीजाप्रसाद कोइरालाले बेबी किङको प्रसङ्ग कोट्याउनु र विभिन्न टेलिभिजनमा दलहरूसँग फरक प्रकारको ७ बुँदे सम्झौता भएको दाबी गर्दै ज्ञानेन्द्रको अन्तरवार्ता आउनुलाई पनि सोही संकेतका रूपमा व्याख्या गरिँदै आएको छ । 

१३ चैत २०६६ मा ज्ञानेन्द्रले पहिलो पटक एउटा टेलिभिजन अन्तरवार्तामा भनेका थिए, ‘राजतन्त्रको अन्त्य भन्नु काल्पनिक कुरामात्र हो । राजतन्त्रको अन्त्य भएको छैन ।’ गणतन्त्र घोषणा भएको दुई वर्षपछि ज्ञानेन्द्रले त्यो अन्तरवार्तामा भनेका थिए, ‘नेपाली राजतन्त्रको इतिहास सक्रिय र संवैधानिक लगायतका आरोह अवरोहबाट गुज्रिएकाले वर्तमान अवस्था पनि राजतन्त्रको इतिहासमा एक अवरोह मात्र हो अन्त्य होइन ।’ उनको त्यो अन्तरवार्तामा समयानुकुलमा राजतन्त्र संवैधानिक वा सांस्कृतिक रूपमा व्युँतन सक्ने संकेत थियो । विगत केही वर्षयता उनको देशका विभिन्न स्थान भ्रमण र देशविदेशका धार्मिक अनुष्ठानको सक्रियताले त्यस्तो संकेत गरिरहेको विश्लेषकहरू बताउँछन् । 

११ वैशाख ०६३ मा जनआन्दोलनको दबाबपछि तत्कालिन प्रतिनिधि सभा पुनस्र्थापना गरी संवैधानिक बन्न स्वीकार गरेका ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतबाट भने १५ जेठ २०६४ को तत्कालिन संविधानसभाको पहिलो वैठकबाट मुक्त गरिएकोे थियो । सहज रूपमा नारायणहिटी राजदरबार छाडेर तत्कालिन सरकारले तय गरेको गोकर्ण क्षेत्रमा सरेका ज्ञानेन्द्र २ वर्षसम्म मौन बसेका थिए ।  

भारतीय मिडियामा उच्च प्राथमिकतामा 
नेपाली संचार माध्यमले उनलाई पूर्वराजा भनेपनि भारतमा उनलाई नेपालको राजाकै रूपमा चित्रित गर्ने गरिएको छ । कोलकातकाका स्थानीय संचार माध्यममा उच्च प्राथमिकताका साथ प्रशारण र प्रकाशनमा आएका ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनी सम्बोधन गरियो । एक महिनाअघि भारतको लखनऊमा पनि स्थानीय र राष्ट्रिय संचार माध्यमहरुले उनलाई ‘नेपाल नरेश’ का रूपमा प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages