जिद्दीले जन्मिएको एउटा कलाकार - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, February 24, 2018

जिद्दीले जन्मिएको एउटा कलाकार

   जिद्दीले जन्मिएको एउटा कलाकार
फेसबुकमा दैनिक हजारौं पोष्ट हेरिन्छन् । कति पढिन्छन,कतिको वास्तै गरिदैँन् । आज यस्तो पोष्टको चर्चा गर्दैछु जुन मेरो यो आलेख तयारको मुख्य स्रोत बन्यो ।
उनले बनाउँदै गरेको मूर्ति र चित्रकलाको फोटो पोष्ट गरेका थिए । त्यसले कलाको महत्व त झल्कन्थ्यो नै त्यसमा उनको लगाव, संघर्ष र व्यवसायिक झुकाव पनि उत्तिकै थियो । मैले जान्न चाहें ।  तुरुन्त फेसबुक म्यासेन्जरमा  टेक्स गरे, उनी मन्जुर भए । लोकेशन दिए– काठमाडौं ढुङ्गेअड्डा ।
१५ दिनपछि म उनको ढुङ्गेअड्डास्थित डेरा पुगेँ । अग्लो कद, पातलो शरीर, लामो कपाल यो हुलिया त मैले सञ्जालमै देखेको थिएँ । यी युवा कलाकारलाई ठम्याउन गाह्रो भएन् । उनले आफ्ना सिर्जना देखाउँदै भन्न थाले ‘मान्छेलाई दुःख पर्छ । अभाव हुन्छ । छटपटी हुन्छ । के गरूँ–गरूँ जस्तो लाग्छ । अनि म यी चित्रका साथ उपस्थित हुन्छु ।’
उनी हुन् नुवाकोटका कलाकार देवेन्द्रप्रसाद पाण्डे । २०४३ साल साउन १३ गते जन्मिएका पाण्डेको परिचय फेरिएको छ, उनी युवा कलाकारका रूपमा परिचित छन् अहिले । तीन दशकको जीवनमा उनले थुपै्र आरोह–अवरोह भोगेका छन् ।  परम्परागत पढाइले उनलाई असफल घोषित गर्दै गर्दा उनको सिर्जना अर्थात कलाकारिताले उनलाई ख्यातीको चूली चढाउँदै छ । पाण्डेले कलाकार बन्न गरेको संघर्ष उनकै शब्दमाः  
कलाप्रति आकर्षण
म सामान्य किसान परिवारमा जन्मिएँ । सरकारी स्कूलको पढाई त्यसमा पनि ध्यानै नदिने ।  कक्षामा अन्तिम बेच्नमा बस्थे । सरले उता पढाउँदा यता कपीमा चित्र उतार्थे । कहिलेकाही सरले पढाउँदै गरेको चित्र समेत उतार्थे । देख्यो भने पिटी हाल्थे लुकाएर बस्ने गरिन्थ्यो । कक्षा दुईमा पढ्दा पहिलोपटक मान्छेको जीवनचक्रको चित्र कोरेँ । त्यतिबेला देखि चित्रप्रति आकर्षित भएँ । कालिमाटी ल्याएर चराको, भगवानको मूर्ति बनाएँ । गाउँमा एकजना दिदीले रातो माटोमा ताराहरू राखेर मूर्ति बनाई रङरोकन पनि गर्नुहुन्थ्यो । म ३/४ कक्षामा हुँदा उहाँले मूर्ति कोरेको देखेँपछि म कलाप्रति झन  उत्साही भएँ ।
नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको मूर्ति छ । त्यो मूर्ति चर्चित चित्रकार अमर चित्रकारले बनाउनु भएको निकै पछि मात्र मैले थाह पाएँ । म सधैं त्यो मूर्ति नियाल्थे, नजिकै गएर सुमसुम्याउथे  । कसरी यस्तो मूर्ति बनाए होलान भनेर कल्पना गर्थे । आफूले पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने मनोभावमा डुब्थे । सुरक्षाको दृष्टिले पछि सेनाले सर्वसाधारणलाई मूर्ति नजिक जान रोक लगायौं । तै पनि म लुकिलुकी मूर्ति हेर्न जान्थे । सेतो कागज देख्यो कि अरुले अक्षर लेख्न थाल्थे म चित्र । दशैं, तिहार, पर्व आए कि शुभकामना कार्ड बनाउने साथीहरूको लाइन । चित्रमा मात्रै ध्यान दिंँदा पढाईमा कमजोर भएँ । चक काटेर साना–साना टुक्रा बनाइथ्यो । चकमा पेनले कोतरेर शिवलिङ्ग पनि बनाएँ । रूखको चोप निकालेर, सेतो माटो मिसाएर कलर बनाइथ्यो । अंगारको कालो बनाएर कालो रङ बनाइन्थ्यो । कलर किन्ने पैसा हुन्थेन । घरेलु सामाग्रीको रङ बनाएर चित्रमा प्रयोग गर्थें । यिनै हुन मेरो सिकाई पेन्टिङका आधारभूत रङहरू । रङको संसार बुझ्नै गाह्रो,बुझेपछि छोडने गाह्रो ।  
 पुरस्कार ऊर्जा
विद्यालय स्तरीय,जिल्ला स्तरीय विभिन्न चित्रकला प्रतियोगिता भइरहन्थे । त्यसमा सहभागी हुनु मेरो नित्य कर्म जस्तै हुन्थ्यो । एक पटक नुवाकोटमै एउटा जापनिज स्कुलले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा म प्रथम भएँ । कलर र कापी पुरस्कार पाएँ । पाहिलो पुरस्कार म बिर्सन सक्दिन् ।  त्यो बेला मैले प्रकृति,मन्दिर र घरको चित्र बनाएको थिएँ । काठमाडौंबाट आएका नातेदारले मेरो चित्र देखेर प्रोत्साहन स्वरूप पचास रूपैयाँ दिनुभो । मेरो खुसीको सिमा रहेन् । आखिर मान्छे खुसीकै भोको हुँदोरहेछ जस्तो लाग्यो । साना–साना खुसीमा रमाउनु पर्ने बोध भयो मलाई । उनै नातेदारले मलाई ललितकला क्याम्पसमा पढ्न सल्लाह दिनुभयो । मलाई ललितकलाबारे थाहा थिएन् । त्यसपछि दिमागमा फनफनी घुम्न थाल्यो ललितकला । यो २०५८ सालतिर हो ।  एसएलसी सेन्ट अप ‘टेस्ट’ परीक्षाको तयारी गर्दै थिएँ । राजा वीरेन्द्रको वंश नाश भएको दरबार हत्याकाण्डको सनसनीपूर्ण खबर जताततै फैलियो । एसएलसी परीक्षा नै अब नहुने हल्ला चल्यो तर, पछि परीक्षा भयो । म त्यही बर्ष एसएलसी पास भएँ । त्यसपछि काठमाडौं आए र ललितकला क्याम्पसमा अध्ययन गर्न थालेँ ।
प्रवेश परीक्षामा फेल हुँदा...
ललितकला क्याम्पस पढने धोको लिएर म गाँउबाट काठमाडौं छिरेको थिएँ । कलाकारिता पढने ठूलो इच्छा थियो । तर,आइए पढन पनि त्यतिबेला प्रवेश परिक्षा दिनुपर्ने व्यवस्था थियो । मलाई कलकारिताको सैद्धान्तिक ज्ञान थिएन । थियो त केवल इच्छा कलाकार बन्ने । ललितकलामा प्रवेश परीक्षामा फेल भएँ । धेरै नमज्जा लाग्यो । सोचें अब कलाकार बन्ने बाटो बन्द भयो । तर,म त्यतिकैमा हिम्मत हार्ने मान्छे थिइन् । यता प्रवेश परीक्षामा पास नभएपछि म व्यवस्थापन विषय आईकम पढन पुगेँ । पढ्दा दिमागमा सधैं चित्रकलामात्रै घुमिरहन्थ्यो । आइकम पास भएँ ।
फेरि ललितकलामा पेन्टिङकै विषय लिएर पढ्न गएँ । त्यतिखेर भने प्रवेश परीक्षा पास गरेँ । भर्ना पनि पाए । घरबाट यो विषय नपढ्न भनेर चर्को दवाब आयो । काठमाडौंकबाट छुटाएर घर लगें । नुवाकोटमा एक महिना बसें । घरमा पनि चित्र बनाउन छाडिन् । काठमाडौं फर्किएँ । घरबाट विविएस पढ भनेर पठाए । तर, मैले ललितकला रोजें । कलाकारिता पढन थालेको खबर थाहा पाएपछि घरबाट ‘आर्थिक नाकाबन्दी’ लाग्यो । अनि संघर्षको फेज आयो । आफ्नो रोजाइँको नराम्रो फल मिल्या मलाई घरबाट । तैपनि आफ्नो लगावमा म रत्तिभर विचलित भइन् । सिक्दै गए,  दुःख भोग्दै गए समय बदलियो,मान्छे बदलिए अहिले घर परिवारले पनि ठिकै बाटो रोजेछ भन्छन् ।    ललितकलामा चार आईए वर्षे पढें । त्यसपछि स्नातक । कोर्ष अुनसार त्यतिबेलासम्म मैले ८/९ ओटा मूर्ति बनाएँ । स्नातक पास गर्न सकेको थिइन । अंग्रेजी ब्याक लाग्यो । त्यो वीचको समयमा मलाई पूर्ण वनिम दाईले बोलाउनुभयो । उहाँको स्टुडियोमा गएर काम गर्ने अवसर पाएँ । उहाँ ठूल्ठूलो मूर्ति बनाउनुहुन्थ्यो । मलाई उहाँकै प्रोजेक्टमा मोरङ गएर पनि मूर्ति बनाउने ठूलो मौका मिल्यो । यसले मेरो जीवनमा ठूलो फड्को मा¥यो । त्यस्तै म निर्भाना आर्ट ग्यालरीकी दिदी बिआर श्रेष्ठलाई कहिल्लै विर्सन्न । उहाँले गर्दा नै म कलामा अघि बढेन सकेको छु । नत्र अघि बढ्न सक्दैनथें होला । 
चीन अध्ययन यात्रा
व्यवसायिक कलाकारितासँगै अवसरका ढोका खुल्दै गए । मलाई छात्रवृत्तिमा पढनका लागि चीन जाने अवसर मिल्यो । क्याम्पस प्रमुख विपीन घिमिरे सरले मलाई थप अध्ययनका लागि चीन जान सुझाव दिनुभयो । यो कला करियरमा ठूलो अवसर थियो । चार वर्ष फुल स्कलरसिपमा अध्ययन गर्न  चीन गएँ । मेरो सिकाईको दायरा अझ फराकिलो भएको अनुभूत मैले गरे । साथै सिकाई कहिले पूरा नहुने अनुभव पनि भयो मलाई । २०६८ सालदेखि मैले व्यवसायिक कलाकारिता थालेँ । सरोज साथीसँग मिलेर ठमेलको व्यापारीको मूर्ति बनाइयो । किराँती धर्म गुरु फाल्गुणान्दको मूर्ति बनाएँ । यलम्बर र पोखरामा बुद्धको मूर्ति बनाइयो । मोरङमा गएर उद्वृत मूर्ति बनाउने काम गरियो प्रोजेक्टमा तर यो प्रोजेक्ट सफल हुन सकेन् ।
सफल बन्न लगनशीलता
जुन सुकै पेशा व्यवसायमा पनि सफल हुनका लागि मिहेनतका साथै लगनशीलताको खाँचो हुन्छ । चित्रकला अपवाद हुनै सक्दैन । अहिले म जे छु त्यो कलाले नै गर्दा हो । ललितकलामा म नगएको म कहाँ हुन्थें मलाई थाहा छ्रैन् । कलामा लाग्न ‘प्यासन’ हुनुपर्छ । लगनशील हुनुपर्छ । आफूलाई बुझ्न सक्नुपर्छ । ज्ञान हुनुपर्छ । एउटा सफल चित्रकारमा उसको मनमा लागेको कुरालाई प्रष्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । म के गर्दैछु भनेर वर्णन गर्ने क्षमता हुनुपर्छ ।
कला बुझ्ने कोही भएनन्
नेपाल कला संस्कृतिको धनी देश हो । त्यति मात्र होइन नेपालले कलाबाटै राम्रो आर्थिक उपार्जन पनि गर्न सक्छ । तर, कलाको महत्व बुझ्ने कोही पनि भएनन् । न सरकारमा बसेका मान्छेले बुझछन् न त अन्य नीति निर्माताले नै । यहाँ अधिकांश मानिसहरू मध्ययम वर्गीय छन् । महंगो चित्र किन्न आर्थिक अवस्था छैन् । सौखिनहरूले मात्रै चित्र किन्छन् । जोसँग कला सम्बन्धी केही न केही ज्ञान  हुन्छ । कलाको महत्व नबुझेको मान्छेले चित्र किन्दैनन् । कला भनेको एउटा सौन्दर्य हो । कलामा सौन्दर्य हुनुपर्छ । सौन्दर्य नभए कला, कला नै हुँदैन् । कलाको अध्ययन सौन्दर्यशास्त्रले गर्छ । त्यस्तै नेपालमा राजनीति तर्फबाट धेरै मूर्तिहरू बनेका छन् । जस्तै : पृथ्वीनारायण शाह देखि विपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी आदि सम्मका बनेका छन् । नेपालमा परम्परागत मूर्तिकला पाटनले धानेको छ । मूर्तिकलाको प्रगति हुन बाँकी नै छ । राम्रा मूर्तिकार भएपनि मुलुकले चिनेको छैन ।
प्रस्तुतिःरमेश दवाडी

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages