काठमाडौँ। फागुन कृष्ण चतुर्दशीका रात स्वदेश तथा विदेशमा रहेका शिवालयमा रातभर जाग्राम रहेर भगवान् शिवको स्तुति गर्दै महाशिवरात्री पर्व मनाइँदैछ । यसै दिन शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरेर धुनी जगाई यो पर्व मनाइँदैछ । शिकारीले शिकार नपाएर बेलको रूख हल्लाउँदा बेलका पात शिवको मूर्तिमा पर्न गएको र यसको प्रायश्चित गर्दै शिकारीले यसै दिन निराहार शिव स्तुति गरेपछि शिकारीले वरदान पाएको प्रसङ्ग महाशिवरात्रि पर्वसँग जोडिएको छ ।
छिटै प्रसन्न हुने स्वभावका आशुतोष, नीलकण्ठ, बमबम भोले, शङ्कर, शिव, शम्भु, जटाधारी लगायतका विभिन्न नाम उपनामले प्रार्थना गरिने शिव देवादिदेव महादेव र पशुपतिनाथका रूपमा सर्वव्यापी मानिन्छन् ।
महोत्तरीको जलेश्वर, खोटाङको हलेसी, काठमाडौँको पशुपतिनाथ, भक्तपुरको अनन्तलिङ्गेश्वर, पाटनको कुम्भेश्वर, काठमाडौँ गोकर्णको गोकर्णेश्वर, मखनटोलको सानो पशुपति भनिने मखन महादेव, जयवागेश्वरी अमालकोटको खञ्जनेश्वर, डिल्लीबजारको वसन्तेश्वर महादेव लगायत मुलुकका सबै शिवालयमा महाशिवरात्री धुमधामसँग मनाइँदै छ ।
बडादशैँका बेलाको कालरात्रि, भगवान् श्रीकृष्णको जन्मदिन मोहरात्रि, लक्ष्मीपूजाको रात सुखरात्रि र यो महाशिवरात्री गरी सनातन वैदिक क्षेत्रमा यी चार रातको निकै महत्व दर्शाइएको छ । महादेव पार्वतीको विवाह भएको दिन, ब्रह्माले पृथ्वी संहारका लागि रुद्र रूप धारण गरेको दिन र समुद्र मन्थन गरेर आएको हलाहल विषलाई घाँटीमा अड्याएको दिनका रूपमा पनि महाशिवरात्री मनाइन्छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार मङ्गलबार राति १०ः५० बजेसम्म त्रयोदशी र यसपछि बुधबार मध्यरात १२ः४४ बजेसम्म चतुर्दशी तिथि रहेकोले बुधबारसम्म नै महाशिवरात्री पर्व मनाउन सकिन्छ, व्रत बस्नेले मङ्गलबार नै बस्दा राम्रो हुन्छ, बुधबार अर्चना गर्दा नराम्रो हुँदैन ।
No comments:
Post a Comment