काडमाडौँ । पर्याप्त गृहकार्य नभएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादी केन्द्रका कम्तिमा तीन–तीन जना समावेश गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको थियो ।
तर, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच विहान भएको लामो छलफलमा आकार र बाँडफाँटमा थप गृहकार्य गर्ने सहमति सहमति भएपछि आज गर्ने भनिएको सरकार विस्तार रोकिएको हो । एकै पटक सरकारलाई पूर्णता दिने वा तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा पनि छलफल जारी छ । वाम गठबन्धनका प्रमुख दुई नेताले मन्त्रिमण्डलको संख्याबारे समेत सहमति जुटाउन सकेका छैनन् ।
मन्त्रालयको संख्या, त्यसको स्वरुप र नामकरण नभएकाले पनि तत्काल मन्त्रिपरिषद् विस्तार गर्न समस्या देखिएको हो । वाम गठबन्धनका शीर्ष नेता ‘प्याकेज’मै सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । थप गृहकार्य गर्नुपर्ने भएपछि मन्त्री छनोटका लागि आज बस्ने भनिएको माओवादीको केन्द्रीय कार्यालयको बैठक पनि आज बसेन । औपचारिक निर्णय गर्न बाँकी रहेपनि सरकारमा माओवादी केन्द्रको नेतृत्व रामबहादुर थापाले गर्ने सहमति भएको छ ।
नेताहरुका अनुसार भोलि सरकार विस्तार हुनेछ । यसैबीच, एमालेले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागि हुन औपचारिक आग्रह गरेको छ । आज एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा संघीय समाजवादीले सरकारमा सहभागी हुन संविधान संशोधनको शर्त अघि सारेको थियो । बहुमत रहेका कारण पनि वाम गठबन्धनले संविधान संशोधनको ग्यारेन्टी गर्नुपर्ने संघीय समाजवादीको भनाइ छ । एमालेले संविधान संशोधनका विषयमा छलफल गर्न कार्यदल बनाउने प्रस्ताव गरेको छ । सकारात्मक भनिएको छलफलबारे दुबैतर्फका अध्यक्षलाई जानकारी गराएपछि थप कुराकानी गरिने नेताहरुले जानकारी दिए ।
No comments:
Post a Comment