काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले मुलुकको सर्वाधिक शक्तिशाली राजनीतिक दल मात्र बनेको छैन, यसका अध्यक्ष केपी शर्मा ओली नेपालका केही गिनेचुनेका केही शक्तिशाली राजनीतिज्ञमध्ये एक बन्न पनि पुगेका छन् । एमालेका सर्वशक्तिमान् अध्यक्ष ओलीका अगाडि पार्टीभित्र र बाहिरका विपक्षीहरूको कद अहिले निकै सानो देखिन थालेको छ । उनको अहिलेको राजनीतिक कद पार्टीभित्र विगतमा कुनै नेतामा नभेटाएको उचाइमा पुगेको छ ।
यही फागुन ३ मा ओली एमाले संसदीय दलको नेता चयन भए । सोही दिन नै उनी प्रधानमन्त्रीमा समेत निर्वाचित भए । त्यो पनि पार्टीमा फरक गुटको नेतृत्वकर्ता वरिष्ठ नेता माधवकुमार नेपालकै प्रस्तावमा । त्यसअघि एमालेले मुख्यमन्त्री छान्न पाएकामध्ये प्रदेश नम्बर ४ र ५ मा ओलीकै एकल निर्णय हाबी भयो । फेरि एकपटक पछिल्लो शुक्रबार बसेको स्थायी समिति बैठकले पार्टीबाट सरकारमा सम्मिलित हुने सबै मन्त्री छान्ने जिम्मा ओलीलाई नै दियो । त्यसअघि ३ फागुनमा उनी प्रधानमन्त्री हुँदा पार्टीबाट दुई मन्त्री उनले कसैसँग सल्लाह नगरीकनै छानेका थिए ।
पछिल्लोपटक एमाले स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई मन्त्री चयनको मात्र नभएर मधेसवादी दललाई मन्त्रिपरिषद्मा सामेल गर्ने या नगर्ने निर्णय लिने महत्वपूर्ण अधिकारसमेत दिएको छ । मधेसी दलसँग सहमति जुटाउनु भनेको संविधान संशोधन गर्न तयार हुनु पनि हो । जसलाई एमालेले विगतमा सधैं अस्वीकार गर्दै आइरहेको थियो । त्यसमा पनि ओली एक्लैको निर्णयपछि मात्रै पार्टीभित्र संशोधन प्रस्तावको खाकामा छलफल हुनेछ ।
विगतमा एमाले स्थायी समिति बैठकमा सामान्य विषयमा निर्णय गर्दा पनि नेतापिच्छे फरक धारणा आउथ्ये र विवाद पनि निकै हुन्थ्यो । विवाद, लामो बहस र छलफलपछि मात्र निर्णय हुने गथ्र्याे । निर्णय भएपछि पनि विपक्षी धार असन्तुष्ट नै रहन्थ्यो । तर, पछिल्ला केही समययता पार्टी अध्यक्ष ओली यती धेरै शक्तिशाली भएका छन्, पार्टीले गर्ने सबै निर्णय उनी एक्लैले गर्छन् अनि स्याबासी र गाली पनि एक्लै खान्छन् । अलि पेचिलो निर्णय त उनी एक्लैको काँधमा थोपरिदिने गरिएको छ । एमाले इतिहासमै पहिलोपटक निर्विरोध संसदीय दलको नेता चुनिन सफल ओली किन पार्टीभित्र यतिविघ्न शक्तिशाली नेता बन्दै गए ? यो विषयलाई धेरैले चासोका रूपमा लिएका छन् ।
रोगी भए पनि निरोगीभन्दा बढी सक्रियता, हक्की स्वभाव, विपक्षीको तीखो आलोचना अनि स्पष्ट अडान लिने क्षमताले नै ओलीको भनाइ नै एमालेको साझा दृष्टिकोण बन्न थालेको विश्लेषकहरू बताउँछन् । ‘प्रष्ट दृष्टिकोण, स्पष्ट अडान, आवश्यक पर्दा लचकता अपनाउने र विपक्षीसँगको बार्गेनिङ गर्न सक्ने क्षमताका ओलीझैं अर्का नेता एमालेमा छैनन् । त्यसैले ओली पावरफुल बने,’ विश्लेषकहरू भन्छन् । ओलीको राजनीतिक उचाइले गर्दा पार्टीमा माधवकुमार नेपाल पक्षका कतिपय वरिष्ठ नेताहरू जस्तैः भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टरार्ई, राजेन्द्र पाण्डेलगायत ओली पक्षमै ढल्किसकेका छन् ।
‘इतिहासले कहिलेकाहीँ व्यक्तिलाई गहन जिम्मेवारी दिन्छ र त्यो जिम्मेवारी अहिले ओलीले पाएका छन्,’ राजनीतिक विश्लेषक राजेश गौतम भन्छन्, ‘अहिले राजनीतिक अन्यौलताले ग्रस्त अवस्थामा गुट–उपगुटको विवाद निकालेर थप अन्यौलतातर्फ मुलुक नजाओस् भन्नेमा सबै नेता सचेत छन् ।
अर्काेतर्फ फरक विचार राख्नेलाई समेटेर लैजाने क्षमता ओलीमा भएकाले उनैलाई निर्णय गर्ने सबै जिम्मेवारी दिइएको हुन सक्छ ।’ २०६२/६३ को जनआन्दोलनपछि जसरी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला मुलुककै सर्वाधिक उचाइका नेता बनेका थिए, अहिले ओली पनि त्यसरी नै सर्वशक्तिमान नेताको रूपमा उदाएका एमालेका युवा नेता पुण्य गौतम विश्वासको दावी छ । ‘वर्तमान राजनीतिक समिकरण र राष्ट्रिय आवश्यकता भनेको एमाले एक ढिक्का हुनु हो, अहिले विवाद देखिएमा परिस्थिती बिग्रने हुँदा, अरु नेताले सर्वसम्मत उनैलाइ सबै निर्णय सुम्पिदिन्छन्,’ गौतम भन्छन्, ‘सबैलाई मिलाएर लैजान सक्ने खुबीका कारण उनले पार्टीभित्रको मनोवैज्ञानिक विभाजन मेटाइदिएका छन् र पार्टीमा भिन्न गुट भनिनेहरूले पनि विश्वास गरेका छन् ।’ अरु नेताको छवि उनको जस्तो नबनेको र उनको विगतको योगदानले पार्टीलाई एक ढिक्का बनाउन सफल भएकोले उनी पार्टीमा शक्तिशाली बनेको विश्लेषक आनन्दराम पौडेल बताउँछन् ।
‘नवौं महाधिवेशनअघिसम्म एमालेलाई ढुलमुले पार्टी भनेर टिप्पणी हुने गथ्र्याे । तर, उहाँ अध्यक्ष भएपछि, स्पष्ट अडान राख्न सकेकै कारण त्यो उपनाम हट्यो ।
परराष्ट्रमन्त्री हँुदा राम्रो काम गर्न नसके पनि, गृहमन्त्री हँुदा पनि लोकप्रिय काम गरेका थिए, प्रष्ट दृष्टिकोण, र त्यसलाई स्पष्ट अडान लिन सक्ने क्षमताले ओली सबै निर्णयमा हाबी भएका छन्,’ उनी भन्छन् ।
गौतमको नजरमा ओली
-नेपालको समकालीन राजनीतीमा ओलीको अहिले चुलिएको उचाइले नैे उनलार्ई सर्वशक्तिमान् बनाएको हो । यो पहिल्यैदेखिको श्रृंखला हो । तर, नाकाबन्दीपछि मात्र जनताले ओलीलार्ई नोटिस गरेका हुन् । भारतीय नाकाबन्दीदेखि अहिलेसम्म आइपुग्दा चुनावी परिणामले पनि उनको उचाइ सबै नेताभन्दा माथिल्लो तहमा पु¥याएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जसरी पार्टीभित्र सर्वशक्तिमान छन्, अहिले ओलीको पथ पनि त्यहीअनुसार अघि बढेको छ ।
-अहिले परिवर्तनको समय हो । किनकि नेपाल संघीयतामा प्रवेश गरेको छ । नेपाली राजनीति अझै अन्यौलको स्थितिमा छ । यो अन्यौलपूर्ण स्थितिमा विवादितभन्दा निर्विवाद समाधानको खोजी गर्दै अघि बढ्न सके उपयुक्त हुन्छ भन्ने एउटा पक्ष छ । जसका लागि ओली उपयुक्त पात्र बनेका छन् ।
-एमालेभित्र गुट–उपगुट छ । तर, अहिलेको अवस्थामा विवाद निकालेर अवस्थालार्ई अन्यौलपूर्ण बनाउनुभन्दा आफ्नो धारणालाई यथावत् राखेर समस्याको समाधान गर्दै अघि बढ्न ओलीलाई सर्वसम्मत नेतृत्वमा चयन गरिएको हुन सक्छ ।
-बाहिरबाट एमालेले ओलीलाई जतिसुकै शक्तिशाली बनाएको देखिए तापनि यथार्थमा पार्टीभित्रको गुटलाई भने उनले समेट्नुपर्ने अवस्था छ ।
No comments:
Post a Comment