काठमाडौं ८,फागुन । नेकपा एमाले र माओवादी मुलुकमा एउटामात्र कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ बनाउन सहमत भएका छन् । सोमबार मध्यरात बालुवाटारमा दुबै पार्टीका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिका पदाधिकारीले ७ बूँदे सहमतिमा यस्तो सहमति भएको हो ।
पार्टी निकटका विभिन्न व्यवसायीकहाँ अलग–अलग वैठकहरु भएपनि बालुवाटारमा सोमबार राती बसेको वैठकले एकिकरणको प्रारम्भिक आधार सार्वजनिक गरेको हो । सात बूँदे सहमतिका आधारमा नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने उल्लेख छ । एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।
साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी एकता संयोजन समितिका आठ नेताले हस्ताक्षर गरेका छन् । सहमतिसँगै प्रजातन्त्र पुनर्स्थापनासँगै दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा एमाले २७ वर्षपछि र शसस्त्र द्धन्दमा होमिएको नेकपा माओवादी २२ वर्षपछि औपचारिक रुपमा आफ्नो अस्तित्व मेटाउँदै हुँदै नयाँ मार्गतिर जान सहमत भएका छन्।
एकीकरणका प्रारम्भिक आधारमा सहमति
१. पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी
२. निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’
३. बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा ९माओवादी केन्द्र०को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट
४. जबज र माओवाद – नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।
५. विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
६. समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण
७. एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ ।
प्रकाशित ८ फाल्गुण २0७४ , मङ्गलबार | 2018-02-20 02:32:24
No comments:
Post a Comment