काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला मुलुकको गणतन्त्रको सुत्राधार भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको आठौं स्मृतिका अवसरमा जीपी कोइराला मेमोरिय क्याम्पसले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले कोइराललाको राजनीतिक व्यक्तित्वको चर्चा गर्दै आफू पहिलो भेटमै उहाँसँग विश्वस्त भएका टिप्पणी गरे ।
शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो । जीपी कोइराला कजेल स्थापना सन्दर्भको चर्चा गर्दै क्याम्पस प्रमुख खिलानाथ सापकोटा गिरिजाप्रसाद कोइरालाले गरेका कामहरूको स्मरण गर्दै कलेज स्थापना गरेको बताए । ‘नेपालका शिक्षा क्षेत्रको विकासमा कोइरालको भूमिका महत्वपूर्ण छ । नीजि स्तरबाट कलेज र दश जोड दुईको सुरुवातको सुरुआत, उच्च शिक्षाको सहयोगका लागि विश्वविद्यालय अनुदान आयोगको स्थापना लगायत कार्य उहाँको कार्यकालका शैक्षिक सुधार हुन,’ उनले भने ।
९ जना विद्यार्थीबाट सुरु भएको जीपी कलेजमा अहिले १३८३ जना विद्यार्थीहरू भएको जानकारी दिंदै क्याम्पस प्रमुख सापकोटाले ग्लोबल कन्टेक्समा जी.पी. कोइराला कलेजलाई लैजानका लागि विभिन्न किसिमका नयाँ प्रविधि र प्रावधानहरूको सुरुवात गरेको बताए । प्रत्येक क्लासमा प्रविधिको व्यवस्था गरेका छौं । २२ वटा डिजिटल क्लास चलाएका छौं । सम्पूर्ण विद्यार्थीहरूलाई प्रोजेक्टरबाट पढाउने गरेका छौं । सायद, जी.पी. कोइराला कलेज नेपालको त्यस्तो कलेज होला जुन प्रविधियुक्त छ’ उनले भने ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थराज खनियाँले समयसापेक्ष उच्च शिक्षा आजको आवश्यकता भएको भन्दै सामुदायिक क्याम्पसहरुले गुणस्तरमा ध्यानदिनु पर्ने धारणा राखे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला र क्याम्पस क्याम्पसका संस्थापक एवम् पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज निरन्तर लागिपर्ने बताए ।
प्रचण्डले यसरी सम्झिए...
गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही नेताको हैसियतले मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेँ । त्यसपछि मुलुकमा शान्ति प्रक्रिया सुरु भयो, हामी त्यही प्रक्रियाबाट अगाडि बढेका छौँ । यस अर्थमा उहाँको योगदान उच्च छ । कोइरालाले शान्ति सम्झौताको वातावरण बनाएर मुलुकमा संघीय लोेकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्नुभयो । कोइरालाको आठौं स्मृति दिवस मनाउँदै गर्दा मैले विगतका ति दिनहरू सम्झेको छु । जतिबेला गिरिजाबाबु र मेरो पहिलो भेट भएको थियो । त्यस भेटमा देशलाई कसरी शान्ति तिर र परिवर्तन तिर लैजाने भन्ने कुरा भएको थियो । हाम्रो पहिलो भेटमा नै मलाई उहाँले विश्वास दिलाउनु भयो । के भन्नुभयो भने अब नेपाल गणतन्त्रमा जान्छ, मलाई अहिले नै सार्वजनिक रूपले बोलिहाल्न नलगाउनस्, तपाईं शान्ति सम्झौतामा, प्रक्रियामा आउनुस्, आन्दोलनमा आउनुस् म गणतन्त्रमा जान्छु भन्नुभयो ।
बाहिर धेरैलाई आशंका थियो, गणतन्त्रमा जाला या नजाला तर मलाई एउटा विद्रोही नेताको हैसियतले मलाई विस्वास भएको थियो गिरिजाबाबु कि अब गणतन्त्रभन्दा दायाँबायाँ गर्नेमा हुनुहुन्न । साँच्चै उहाँले जे मलाई पहिलो भेटमा भन्नुभयो उहाँ त्यसमा अडिनु भयो र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आयो । सात दल आयो । सात दलको नेतृत्व हैसियतले गिरिजाबाबुले आफ्नो प्रतिवद्धता अडिएर नेपालको इतिहासमा एउटा यस्तो नेता जसले युगान्तकारी परिवर्तनको नेतृत्व ग¥यो त्यस्तो नेताको रूपमा स्थापित गर्नुभयो । हामी सबै कम्युनिष्टहरूले या अन्य पार्टीहरूले पनि गिरीजाबाबुलाई अभिभावकका रूपमा, एउटा राजनेताको रूपमा सम्झन्छौँ । यस बेलाका दिनहरू सहज थिएनन् । निकै पेचिलो र चुनौतीपूर्ण स्थिति थियो म र गिरिजाबाबु एक भएर निष्कर्षमा पुगि सकेपछि पनि युद्ध जारी थियो । आन्दोलन जारी थियो । म रोल्पामा बस्थेँ ।
गिरिजाबाबुलाई नियमित फोन गर्थें । काठमाडौँको परिस्थिति के छ भन्ने कुरामा चर्चा हुन्थ्यो । र, मैले गिरिजाबाबुलाई फोन गर्दा म बसेको ठाउँ पत्ता लाग्ला भनेर रोल्पमा भएको बेला कहिले दाङ आएर फोन गर्थे, कहिले म रुकुम गएर फोन गर्थें । ताकि त्यति बेलाका शासकहरूले हाम्रो वार्ताको बारेमा हाम्रो लोकेशन पत्ता लगाउनु नसकुन । म भारतमा भूमिगत पनि भएँ । त्यसबेला बम्बईमा बस्थें । गिरीजाबाबुलाई फोन गर्नुप¥यो भने बम्बईबाट गुवा जान्थें । गिरीजाबाबु धित मारेर कुरा गर्थें । कहिले आधा घण्टा, कहिले ४५ मिनेट त कहिले एक घण्टासम्म हामी फोनमा कुरा गर्थौं ।
प्रकाशित ७ चैत्र २0७४ , बुधबार | 2018-03-21 11:28:05
No comments:
Post a Comment