नेपालगन्ज । कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमामा सुरु भएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे मौन बसेको भनेर चर्को आलोचना र भूमिकाप्रति प्रश्न उठिरहेकै बेला नेपालगन्जमा १४ औं राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश पराजुलीको बहिर्गमनलाई लिएर मुलुकमा बहस चलिरहेका बेला सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकतामा राखेको छ । ‘बार जहिलेसुकै स्वतन्त्र न्यायपालिकाको पक्षमा छ । यसमा दुईमत हुनै सक्दैन,’ बार अध्यक्ष शेरबहादुर केसीले भने, ‘पूर्वप्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादबारेको मुद्दा समाधान भइसकेकाले त्यसमा अल्झिरहनुपर्ने अवस्था छैन ।’ पराजुलीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बारले प्रतिक्रिया नजनाएको भन्दै उनले बचाउ गरे ।
छलफलमा मुलुकभरका करिब ३ हजार कानुन व्यवसायी सहभागी हुनेछन् । सम्मेलनको मुख्य नारा ‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता : कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ तय गरिएको छ ।
तीनदिने सम्मेलनमा १० वटा विषयमा प्यानल बनाएर छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गरिनेछ । कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्यादित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउनेलगायत विषयमा छलफल हुनेछ ।
केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले न्यायालयमा चट्याङ परेको अवस्थाझैं भएको बताए । ‘न्यायालयमाथि गम्भीर प्रश्न तेर्सिएको छ । स्वतन्त्रतामा पनि आँच पुगेको छ,’ उनले भने, ‘त्यसैले न्यायालयको सर्वोच्चता कायम गर्न बार खरो रूपमा उत्रिनुपर्ने अवस्था आएको छ ।’ सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी, कानुनमन्त्री शेरबहादुर तामाङ, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा विदेशी कानुन व्यवसायीको सहभागिता रहनेछ ।
No comments:
Post a Comment