काठमाडौ । नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ ।
काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गर्नुभएको थियो ।
त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिनुभएको बताइएको छ । निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन् । सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गर्नुभएको छ ।
संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
No comments:
Post a Comment