काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।
विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको बुझाइ छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १० औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । तर भारत प्रशासित जम्मुकाश्मिरको उरी भन्ने ठाउँमा विद्रोही समूहले आक्रमण गरेर १७ जना भारतीय सैनिकको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भयो ।
भारतले पाकिस्तानबाट आएका विद्रोहीले आक्रमण गरेको भन्दै पाकिस्तान विरुद्ध ‘सर्जिकल स्ट्राईक’ पनि ग¥यो । त्यस अवधिमा दुवै देशका सैनिक र गैरसैनिक गरी दर्जनौको ज्यान गयो ।
दक्षिण एशियामा परमाणु बम रहेका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानको विवादले उग्र रुप लिंदै गएपछि निर्धारित समयमा सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।
वर्णानुक्रमका आधारमा सार्कको अध्यक्षता गर्ने व्यवस्था अनुसार हाल नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । नेपालले सार्कको शिखर सम्मेलन गर्ने वातावरण बनाउन आग्रह गरे पनि पाकिस्तानमा नै गर्नुपर्छ वा अन्यत्र सारेर गर्ने भन्ने बारेमा आफ्नो धारणा बाहिर ल्याएको छैन ।
नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्क शिखर सम्मेलन आयोजना गर्न अनुकूल वातावरण बनाउन आग्रह गर्न पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको विश्लेषण हुन थालेको छ । २०७१ मंसिर १०–११ गते काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुबै देशका प्रधानमन्त्रीको हात मिलाएर सम्बन्ध सुधारको प्रयास गर्नु भएको थियो । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।
के कस्ता कार्यक्रम तय भएका छन् ?
३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा १० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।
आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गर्नेछन् ।
विमानस्थलबाट उनी सीधै आफू बस्ने होटल याक एण्ड यतीमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।
सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ ।
यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।
ओली-अब्बासी भेटवार्ता
त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी पुनः होटल याक एण्ड यतीमा फर्किने छन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटवार्ताको समय एक घण्टा निर्धारण गरिएको छ ।
भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री अब्बासीले नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बनेको र केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने उल्लेख छ ।
दूतावासको विज्ञप्तिअनुसार भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा छलफल हुने उल्लेख छ ।
२०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सम्मेनल अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्नका लागि नेपालको सहयोगको अपेक्षा अब्बासीबाट हुने अनुमान गरिएको छ ।
साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिलाई भेटेर स्वदेश फिर्ती
गत वर्ष नेपालबाट बेपत्ता बनाइएका पाकिस्तानी पूर्वकर्णेलको विषयलाई पनि अब्बासीले उठाउने अनुमान गरिएको छ ।
उनले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्किनेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।
No comments:
Post a Comment