काठमाडौँ । राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित तीन जनालाई शपथ खुवाउने बाटो सर्वोच्च अदालतले खुला गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई तत्काल शपथ नगराउनु भनी गत फागुन १३ गते जारी भएको अन्तरिम आदेशलाई न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदा प्रसाद घिमिरेको संयुक्त इजलासले खारेज गरेको हो ।
यसअघि, न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरूलाई शपथ नगराउन भन्दै दिएको अन्तरिम आदेश खारेज भएसँगै ओली सरकारले सिफारिस गरेका तीनै जनाले शपथ लिने बाटो खुलेको हो ।
सर्वोच्चको यसअघिको अन्तरिम आदेशकै कारण उनीहरू तीनैजना यही फागुन २० गते भएको शपथमा सहभागी हुन पाएका थिएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले ओली सरकारले गरेको सिफारिस संविधान विपरीत भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाई गर्दै न्यायाधीश राउतले तत्काल शपथ नगराउन भन्दै अन्तरिम आदेश दिएका थिए ।
प्रकाशित २३ फाल्गुण २0७४ , बुधबार | 2018-03-07 02:43:06
No comments:
Post a Comment